साइँली बिहानको तरकारी पकाउने कुनै चीज पनि भेटिन साइँलीले । असोज महिना भए पनि बाहिर पानी झमझम वर्षेको पनि धेरै दिन भइसक्यो । पारिपट्टि पहिरोले गाउँ नै सोहोरेर लगेपछि उसलाई दिनसँग पनि डर लागेको छ । लहरै एकै स्थानमा दर्जनौं लासहरु एकैचोटी जलाउँदा सारा संसारै विरक्त लागेको थियो । सारा गाउँ नै रुवावासी भएपछि सम्झाउने मानिससमेत कोही थिएन । आफैं रुँदै आफैंलाई सम्झाउँदै मानिसहरु सम्हालिएका थिए । जन्मेदेखि आजसम्मको जिन्दगीमा दिल खोलेर हाँस्न पनि जानेको छैन उसले । गोठमा रहेका दुईवटा गोरुलाई भोकै राख्न त भएन। प्लाष्टिक बेरेको थोत्रो घुम ओडेर साहिँली भोकै घाँस काट्न हिँडी । कम्मरबाट हँसिया र टाउकोबाट डोकोनाम्लो हटेको दिन थाहा छैन । जीवन गुजारा गर्नलाई गाउँले जीवनमा सबैको जिन्दगी उस्तै भएपछि खासै गुनासो पनि नरहने रहेछ । दैनिकी नै बनेपछि आफैं रुटिन अनुसार नचली सुख पनि थिएन । अब त जीवनमा कति नै बाँचिन्छ र असी वर्ष हिउँदवर्षा खेपिसक्यो त्यो ज्यानले । न हिँड्दा खुट्टा राम्ररी टेकिन्छ न आँखा नै राम्ररी देखिन्छ तर पनि साथी भनेर गोठमा दुईवटा गोरु पालेकी छ । खरबारी जाने बाटोमा वरपिपलको रुखमुनि चौतारी बनाएको छ । त्यही छेउमा एउटा चौर पनि छ । धेरै चोटी यो चौरमा भेला भएको, भाषण गरेको, ताली पिटेको देखेकी छ उसले ।फूलैफूलका मालामा छोपिएर चिन्नै नसक्ने भएका नेताहरु पनि देखेकी थिई । ठूलो आवाज निकालेर बोल्ने माइक पनि सुनेकी थिई उसले ।त्यही माइकबाट मिठामिठा सपना बाँडेका थिए उनीहरुले । त्यत्रो आवाज आउने माइकमा पनि अझ कराएर भाषण गरेका थिए। पहिले पनि भाषण गर्थे, अहिले पनि भाषण गर्छन् । एकपटक नेताले भाषण गरेका बेला निरङ्कुशता फालेर प्रजातन्त्र ल्याएको भन्थे । एकतन्त्र फालेर बहुदल ल्याएको भन्थे । व्यवस्था फेरियो अब नेपाली जनताले आफ्नै आवाज बोल्छन् ,दुखका दिन गए ,आफ्नो शासन आफैं गर्छन् ,स्वतन्त्रता पाए, देशको विकास गर्छौं भन्थे । यो सुनेका बेला आमाछोरीलाई एउटै मानिसले गरेको दुर्व्यवहार संझेर मन अमिलिएको थियो । भर्खरै टुसाउन लागेका छाती टोकिदिएर रगताम्य पारिदिएको, आँखाको अगाडि आमाछोरीले आफ्नो नाङ्गो शरीर सम्हालेर अँगालोमा बाँधिएर घन्टौं रोएको पींडाले चियाउन आएको थियो ।आजसम्म कसैलाई सुनाउन नसकेको पींडाले आफ्नै दिललाई चसक्क घोच्दा आँखाबाट झरेका आँसुलाई मजेत्रोको फेरले पुछेर मुसुक्क हाँसेकी थिई साइँली । त्यहीबेला उसले आफ्नी आमालाई पनि संझी । पुनः अर्को पटक त्यही चौतारीमा विशाल सभा बसेको थियो । फेरि पहिलेकै जस्तो चहलपहल थियो । विवाह मन्डप सजाएजसरी चौतारा पनि सजाएको थियो ।सबैका घरघरबाट फूलबारीका फूल टिपेर माला बनाएर सिँगारेका थिए । साइँलीले पनि आफ्ना बारीका फूल टिपेर माला बनाएकी थिई । त्यस दिन पनि उस्तै रङ्गरोगनका गानाबजाना थिए । मानिसहरु खुसी भएका जस्ता देखिन्थे । चौताराका छेउमा उस्तै खालको मन्च सजाएर राखिएको थियो । सायद ठूलै मानिसको जमघट हुनुपर्छ । गाउँलेहरु उत्साहित भएर भेला भएका थिए । एकैछिनमा हेलिकोप्टर आएर बस्यो । गाउँमा पहिलो पटक यति नजिकबाट जहाज देखेका केटाकेटी बुढाबुढीले निकै परिवर्तन भएको ठाने । जहाजबाट आएका नेतागणहरुलाई स्वागत गर्ने क्रम जारी रह्यो । साइँलीका छेउमा आइपुग्दा अविर र मालाले छोपिएका महिला पुरुष मानिसका आकृतिमात्र देखी तर पनि माला र गुच्छाले स्वागत गरी । सबैले भाषण गरे । लोकतन्त्र, गणतन्त्र आयो रे , जनताका चाहना इच्छा पूरा हुने भए रे, हत्याहिंसा, बलात्कार नहुने रे ,अन्याय अत्याचारले अव डाँडा काटेका रे , देशमा भोका, नाङ्गा मगन्ते कोही नहुने रे ।सुखै सुखमा जनता बाँच्नेछन् । जनताका दिन फिर्ने छन् ।अव यस गाउँको विकास हुनेछ । धेरै जनाले यस्तै भाषण गरे ।महिला मुक्ति, वर्गीय मुक्ति अनि खै के के मुक्ति हुने रे, महिला पुरुष दुवैले यस्तै भने । भाषण गर्ने मध्ये एकजनालाई उसले चिनी जुन सामूहिक बलात्कार गर्न कुनै दिन साइलीको कुटीमा आफ्ना ग्याङ्गसहित हाजिर भएको थियो । बोलेमा मारिदिने धम्की दिएर गएका थिए उनीहरु । त्यहीबाट जन्मेको छोरो जनयुद्धमा मारिएको थियो तर ऊ जीवनभर विनाबाबुको नामबाट परिचित थियो । फेरि साइँलीको मन कुँडियो । पालुवा पलाउन लागेको मन पनि पटकपटक डँडेलाले खाइदिएको थियो । तालीको गड्गडाहटले साइँली झस्की खै के के भाषण गरे हुन् ? यही चौतारीमा सबै भाषण गर्छन्,बच्चादेखि बुढासम्म, महिला पुरुष सबै सबै ।समूह, क्लब, चौतारा, अनि खै के के केन्द्रहरु रे । आफ्नो हक अधिकारको माग जोडदार रुपमा राख्छन् । कोही भाषण खेतीमा लागे, कर्म गर्ने हातहरु भाषणले वाक्क भएर विदेश भासिए । डाँडाको चौतारीबाट साइँलीले तल बेंसीमा हेरी । पहिले धान फलेर पहेँलै हुने वेंसी अहिले बाँझै छ । गाउँघरमा हेरी यो बेलामा दशैंको रौनक बोकेर युवाहरु चहलपहल गर्न थालिसकेका हुन्थे, अहिले सुनसान छ ।सायद सबैले भाषण गरेरै विकास भएको हो कि ! भाषणको विकास । यही चौताराबाट धेरैले भाषण गरे । आज साइँलीलाई पनि भाषण गर्न मन लाग्यो । हँसियालाई माइक बनाई अनि जोड जोडले चिच्याउँदै बोल्न थाली – विकास हुने रे, सुख आउने रे भन्थे त ! तल्लाघरे माने, माथ्लाघरे साने,माझगाउँको हरि, ठूलाघरे पुकुली अनि मजस्ता साइलीको जीवन किन उस्तै छ ?गाउँको जीवन किन दुखदायी छ ? गाउँमा किन सबै भोकै छन् ? यो चौतारो किन चुपचाप सुनिरहन्छ ? म्याकुरीका पेटको बच्चा कस्को हो ? हरिकृष्णेको बाउ को हो ? रामकलीलाई कसले मार्यो । भोको पेटमा खुइली किन झुन्डेर मरी ? रमितालाई कसले बेच्यो ? माया किन उपचार नपाई अकालमा मरी ? गाउँमा रहेका बालबालिकाको तिर्खा कसले मेटाउने ? गाउँका युवा कहिले फर्कन्छन् ? यो गाउँ फेरि कहिले हराभरा हुन्छ ? केटाकेटीको पढाइ कहिले सप्रन्छ ? माइली किन सडकमा बस्छे ? शर्मिलाले घरबारी बेचेर पढाएका छोराछोरी किन सहरमा बेरोजगार भएर बसिराछन् ? ए माइक तँ कति झुट बोल्छस् ? कति ठूलो आवाजमा कराउँछस् ? सुन्दासुन्दै जीवन वितिसक्यो, भाषण होइन काम गर !! काम गर !!! …….. .। साइँलीको आवाज सुन्ने न कोही थियो त्यहाँ न ताली बजाउने भीड नै । कराउँदाकराउँदै साइँली चौतारामा ढलिसकेकी थिई सधैंका लागि ।