इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युशैया जली मेरो रक्त सुकाउँला म गरूँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरू परुन् नेपालकै केवल जे जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन “यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको” यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाऊँ वहाँ साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिँदै उत्तर हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरूँ । मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस् नेपाली सुकुमार हातहरूले खस्रा बुनेका लुगा नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ, पाऊँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा नेपालीहरू छन् मरीकन सबै जन्मिरहेका जहाँ