किस्ताबन्दीमा अङ्कुराएको प्रेम एक अर्काको अँगालोमा बाँधिएर घन्टौं बिताएको पत्तै पाइएन । माया गर्नेहरुको लागि जहिले पनि भ्यालेन्टाइन डे हुने रहेछ । डाँडाको टुप्पोबाट तल अविरल बगेको नदी र त्यसले बनाएको सुन्दरता हेर्दाहेर्दै जिन्दगीलाई सोच्न पुगेँछु । कति बाङ्गिएको छ यो नदी । अजङ्ग रुपमा ठडिएका डरलाग्दा पहाडका काखमा लुटुपुटु गर्दै सबैलाई खुसी पार्दै कसरी रमाएर बग्न सकेको होला ? हामीले हेर्दा यति राम्रो देखिने नदी र पहाडका पनि त आआफ्नै पींडा र व्यथा होलान् कि ? उनीहरुको आवाज सुनेर बुझ्न नसकेपछि सुन्दरतामै रमाउँदै गर्दा नदीको अदृश्य स्थानसम्म पुगेर मेरो मन टक्क रोकिन्छ । आफ्नो जिन्दगी नै रोकिएजसरी मेरा आँखाबाट अनायसै आँसु झरेछन् । मेरो हालत थाहा पाएर उसले विस्तारै सम्झाउँदै भन्यो – धेरै चिन्ता नगर न भो ! हिजोलाई बिर्सेर भोलिको चिन्ता नगरी आज रमाऔं । हुन त हो तर भनेजस्तो कसरी हुन्छ र, मन त हो जहिले पनि दगुरिहाल्छ नि । हामी अलि पर सरेर एउटा ढुङ्गामाथि बस्यौं । तलतिर पहराको छाती खोपेर बनाएको शहरको सुन्दरतालाई नियालेर सुन्दर जीवनको कल्पना गर्न थाल्यौं । मैले उसको अनुहारलाई हेरेँ । निधारमा लागेको चोट अलि बसेजस्तो भएछ । टाउकोमा बाँधिएको पट्टी हेरेर कल्पना गरेँ हिजोको कुरा गर्यो भने त उसको त्यो घाउ झनै दुख्दो हो, दिल पनि चिरिँदो हो चररर्र………। आफ्नै सोचाइले मलाई पगालेछ । आँखाबाट झरेका आँसुलाई स्वच्छन्द बग्न दिएँ । उसको निधारको चोटमा विस्तारै छुन खोजेँ । गंभीर हुँदै उसले मलाई सोध्यो तिमी मेरो साथ पाएर खुसी त छ्यौ ? मनका कुरा बोल्न शब्द निस्कन नसकी पहराको फेदमा हुर्कँदै गरेका विरुवा जसरी अड्किए । म भएभरको बल निकालेर उसका दुबै हातलाई बेस्सरी समाउँछु र भावनात्मक जवाफ दिन्छु । जवाफ पाएर होला ऊ पनि एकोहोरो टोलाउन थाल्छ । म उसको शरीरमा आफ्नो शरीरलाई भरोसा दिएर एक्लै विगतमा डुल्न थाल्छु ।कक्षा आठमा पढ्दापढ्दै अङ्कुराएको प्रेम,किशोरावस्थाको सुरुवातमै कुर्कुरे बैंसले छोएको बेला यो मनले चाहेको त्यो मन । सबै साथीहरु सानैमा भागी विवाह गरेर जाने गरेको परिवेशले पनि सिकाएको हुन सक्छ । वार्षिक परीक्षा सकेर हामी सँगै गाइवस्तु हेर्न जान्थ्यौं । हाम्रो घर दश मिनेट जतिको टाढा भए पनि गाइवस्तु चराउने ठाउँ एकैतिर हुन्थ्यो । दिनभरि हामी सँगै खेल्थ्यौं, गफ गर्थ्यौ र एकअर्काको नजिक हुन्थ्यौं तर पनि हामीलाई दिनभरिको समयले मन भरिदैन थियो । हामीले विवाह गर्ने सल्लाह गर्यौं र म अजयको घरमा गएँ । गाउँमा सबैले यसै गर्थे । गाउँभरि हल्ला भयो – विनिता त अजयसँग गई रे ! एकैछिनमा मेरा घरबाट मलाई लिन आए र मलाई लछारपछार पार्दै लगे । घरमा आमाले काम नपाएर दलितसँग जान लागेकी भन्दै एक झापड हान्नु भयो र आइन्दा नभेट्ने र कुराकानी नगर्ने वाचा गराउनु भयो । अजयको घरमा के भयो खै उसले कहिल्यै केही भनेन ।हामी एक अर्कालाई हेरिरहन्थ्यौ तर बोल्न छाडेका थियौं । गाउँघर पनि गाइँगुइँ गर्दै सुनसान भयो सायद केटाकेटी भनेर माफ पाएका थियौं कि ! मेरो मनले सधैं अजयको अभाव महसुस गरिरहेको थियो, अन्जान मनले स्विकारेको प्रेम खोजिरहेको हुन्थ्यो । उसलाई के थियो खै ? परीक्षाको रिजल्ट आयो म कक्षा नौंमा पुगेँ ऊ कक्षा दशमा । हामी एउटै स्कुलको छानामुनि एउटै ग्राउन्डमा थियौं तर पनि मुखले केही बोल्दैन थियौ केवल मनको कुरा आँखाले गर्थ्यौं । आधाआधा मनले पढ्दै थियौं । यतिकैमा मेरो विवाहको कुरा भएछ । म अनजानमै बेहुली बनेर कसैको घरमा पुगेँ । मन मुटु अजयकै जिम्मामा छाडेर शरीर पराइको बनाएँ । केही दिनमै मेरो लोग्ने विदेश गयो । म फेरि आफ्नो पढाइलाई निरन्तरता दिन आफ्नै घर फर्किएँ । आफ्नै स्कुल र आफ्नै अजयको सामिप्यतामा । अजयले मलाई हेर्यो मैले अजयलाई हेरेँ चार आँखाका भावना साटासाट भए र टिल्पिलाए तर मनको आवाज निस्कन सकेन । समय बित्दै जाँदा अजयले एस एल सी पास गर्यो । उसको सफलतामा मेरो मन रमायो तर व्यक्त गर्न सकिनँ । अजय अलिकति खुसी त देखिन्थ्यो तर प्रफुल्ल थिएन । ऊ नजिकैको उच्च मा वि मा पढ्न गयो म पनि एस एल सी पास भएर उही स्थानमा पढ्न पुगेँ । समयसँगै विगतमा खाटा बसाउन खोज्दै थियौं फेरि पनि समयले एउटै स्कुल र एउटै बाटो तय गरिदियो । हाम्रो मौनताले समाजलाई भ्रममा पारिदिएको थियो र म अर्कैको भइसकेकी थिएँ । अजयले १२ कक्षा पास गरिसक्दा म १२ कक्षामा पुगिसकेकी थिएँ । सायद मनमा हिम्मत बढ्दै गइरहेको थियो । एक दिन अजयले मलाई बाटोमा कुरेर बसिरहेको रहेछ । हामीले एकअर्कालाई निकैबेर हेराहेर गरिरह्यौं । वर्षौदेखि खात लागेर बसेका भावना एकाएक आँखाको भावले बोल्न थाले । धेरैबेरको मौनतालाई तोड्दै उसले मलाई बोलायो "विनिता !!" म एक्कासी डाँको छोडेर रुन पुगेँछु । उ नजिकमा आयो । हामीले एक अर्कालाई अँगालोमा बाँधेर आजसम्मका पींडा रोएर पखाल्यौं – निशब्द, निर्विरोध, निर्भय, आनन्द !! एकान्त बनमा बाल्यकालमा बसेको प्रेम छताछुल्ल भएर पोखिएको थियो एउटा उदाउँदो कोपिला बनेर । हामीले नबोलेरै निकै समय जंगलमा बितायौं । आवाजविहीनतामा पनि कति धेरै शक्ति लुकेको हुँदो रहेछ । हामी आफैं छक्क पर्यौं । विगतलाई संझेर मन रमाउदै थियो यतिबेलै उसले मलाई बोलायो र वर्तमानमा ल्यायो विनिता ! मैले ओठ नखोलेरै भनेँ –'हुँम' बुबाको हात भाँचिएको छ रे ! मेरो मुटु फेरि ढुकढुक भयो । मैले तिमीलाई भगाएको भनेर घरमा वितन्डा मचाएछन् पूरै गाउँलेले । आमा पनि भागेर अन्तै जानुभएको छ रे । दाइ पनि स्कूल पढाउन जान सक्नु भएन रे । भाइबहिनी पनि अन्तै कतै छन् रे । हिजो सम्म समाज परिवर्तनका लागि भनेर लडाइँ खेल्ने रमाकान्त आज आफैं हाम्रो घरमा ढुङ्गा हान्दै थिए रे । पूरै गाउँ नै लागेर हामीलाई उठिवास लगाए । धन्न हामी भाग्न सफल भएछौं नत्र जिउँदै जलाउँथे होला है ! यो सबै मेरो कारणले हो अजय! होइन विनिता तिम्रो कारणले होइन म सानो जातको भएको कारणले हो । यो जातभात कसले बनायो अजय? खै ? मेरो १२ को परीक्षा पनि छुट्ने भयो । चिन्ता नगर न प्रहरी, प्रशासन, अधिकारकर्मीको टोली पनि गाउँमा गएको छ रे केही साम्य होला नि त । समयले बनाएको घाउ समयले नै पुर्ला नि विनिता । ऊ लामो सास फेर्दै पुनः चूप भयो । केही समयपछि विस्तारै बोल्यो – तिमी अलिकति हिँड्न सक्छ्यौ ? किन र ? माथि डाँडाको मन्दिरमा जाऔं अनि भगवानको सहारा मागौं मनमा केही आनन्द आउँछ नि । अजय सच्चा मनले भगवान सम्झने हो भने मन्दिरको ढोकासम्म पुग्नै पर्दैन नि यहीँबाट सम्झौं न हुन्न । ठिकै छ विनिता तिमी शारीरिक र मानसिक दुबै रुपले थकित छौ त्यसै गरौं । हामी डाँडाको मन्दिरतर्फ हात जोडेर मन, वचन र कर्मले भगवानसँग प्रार्थना गर्न थाल्यौं । उसले के कामना गर्यो खै तर मैले मनमनै कामना गरेँ हाम्रो किस्ताबन्दीमा अङ्कुराएको प्रेम सफल होस् । अबोध रुपमा बसेको प्रेमले सजाय नपाओस् । हाम्रो प्रेमस्वरुप गर्भमा हुर्कदै गरेको शिशुको कल्याण होस् । उसको जन्म द्वापर युगमा जन्मेको कृष्णको जस्तो होस् उसले यो कंशरुपी जर्जर समाजको विखन्डन गर्न सकोस् । सामाजिक रुपान्तरणबाट सभ्य र सुसंस्कृत समतामूलक समाजको स्थापना गर्न सक्ने सामर्थ्य भएको होस् ………….. हे भगवान् !!