पागल्नी विहानैको मिर्मिरे उज्यालोमा चराहरु गीत गाउदै छन् । सुखका गीत गाएका हुन् कि दुखका विरह गाएका हुन् वा कराएका मात्र हुन् कसैलाई थाहा छैन । सुखका कुरा गर्छन् कि दुखका सधैं उस्तै आवाज आउँछ छुट्याउनै गाह्रो । तर पनि नबुझिने भाषामा भएकाले गीतै ठानिने रहेछ । त्यही समयमा विहानको बैशाखे गर्मी छलेर मानिसहरु आफ्नै जीवनको दौडानमा व्यस्त छन् । मानिसलाई आफ्नो जीवन नै सधैं प्यारो वा भारी लाग्ने गर्छ अरुको मतलब त केही हदसम्म आफ्नो स्वार्थ पूरा गर्नका लागि कहिलेकहिँ जोडिने न हो । मिर्मिरे उज्यालो हुने भन्दा अलि धेरै प्रकाश फिँजिएको विहानीको सुरुवातको समयमा चराको आवाज र केही सडकका आवाजवाहेक हावाहुरी र घामबाट जोगिन नसकेका आँपका चिचिला हामफाल्दा टिनमाथिबाट आउने आवाज वाहेक सुनसान छ । विहानीमा मानिसहरु शान्त भएर आआफ्नै दैनिकीको सुरुवात गर्ने तयारीमा छन् । समाजमा केही उच्च ठानिएका वर्ग र सामान्य जीवन विताउने वर्गसम्मको चहलपहल आफ्नै पारामासुरु भइसकेको छ । कोही खाना पाउनका लागि संघर्ष गर्दैछन् भने कोही खानाको उचित व्यवस्थापन गर्नका लागि दौडदै छन् । जीवन जिउन संघर्ष गर्नेदेखि जीवन कटाउन समय विताउनेसम्म सडकमा छरिएका छन् । कोही मर्निङ्ग वाक, कोही दौड त कोही लौरोको भरमा हिड्नेदेखिडोहोरिएर हिड्नेसम्मका मानिसहरुको चहलपहलले सडक व्यस्त देखिन्छ । बिहानको स्कुल र कलेज पढ्ने केटाकेटीहरु निद्रालाई जितेर जीवनको मार्ग कोर्न दौडदै छन् । तरकारी पसले, दूध पसले तथा फलफूल पसलेको दैनिकी सुरुवात भएको देखिन्छ । लाहुर गएर राम्रो कमाइ गर्ने र जीवन बिताउन सहज होस् भन्ने आशाका साथ जीवनको पूर्वार्धलाई पसिनामा डुबाएर आफ्नो भविष्यको सुन्दर मोती निकाल्ने उत्साहका साथ लागि पर्ने युवाहरुको जमात पनि सडकमा बुलन्द आवाज निकाल्दै दौडिरहेका बेलामा एउटा कुनामा कपाल फिँजाएर बसेकी महिला एक्कासी दौडदै सडकको पल्लो किनारामा गएर फोहोरको थुप्राबाट सामानहरु उठाएर फाल्न थाल्छे । सायद ऊ रातभर त्यही सडकको कुनामा बसेकी थिई होला । त्यही समयमा कसैको आवाजले सबैलाई झस्काउँछ कस्ती पागल आइमाई झन्नै मारी । उठाएर फाल्न मिल्ने जति सामानहरु सबै फालिसकेपछि फेरि उसलाई सायद थकाई लाग्दो हो । सडकको कुनामा आएर र बस्छे एकैछिनमा त्यही कपाल भुत्ल्याउँछे सायद ऊ कसैलाई भुत्ल्याएर मन शान्त पार्दैछे तर आफैंलाई भुत्ल्याएको पत्तै पाउदिन । छेउमा रहेको ढुङ्गा टिपेर आफ्नै नाडीमा हान्छे, आफ्नै हातलाई रगताम्य पार्छे र हेर्छे त्यो रातो रगतभित्र उसले फुटेका चुराहरुको पहाड देख्छे होला कि शहीद भएर बगाएका कैयौं नेपालीको रगत देख्दि हो । उठेर दगुर्दै सडकको अर्को छेउमा गएर सुनसान विहानीको शान्ति खल्बल्याउने गरेर रुन्छे मानौं उसको कुनै प्रिय व्यक्तिसँगको विछोड भयो वा उसले चाहेको कुनै पनि परिवर्तन आउन सकेको छैन । उसको जीवनमा तुफान ल्याउने कुन कुरा संझदै छ खै कुन्नि तर अहिले उसलाई यो दुनियाँको कुनै पर्वाह छैन । तर मानिसहरु उसलाई गाली गरिरहेका छन् यसले त पूरै वातावरण नै खराब बनाइसकी । के सारो रोएकी अलच्छिन लगाउने गरी ।कसैको भनाइले उसलाई छुन छाडेको धेरै भइसक्यो । मनभरि रोइसकेपछि आँखाबाट बगेका बलिन्द्र आँसुका धारालाई रगताम्य भएको हातले पुछ्दै वरिपरि भएका ढुंङ्गालाई टिपेर फाल्छे । उसको अनुहारको भावभङ्गीमा हेर्दा लाग्छ कि उसको अस्मिता, स्वतन्त्रता, जिन्दगी लुटेका मानिसहरुमाथि हमला गर्दैछे । उसलाई यो स्वार्थी दुनियाँको कुनै पनि मतलब छैन । ऊ सबैतिर थुक्छे । खै किन हो, खै कसलाई हो सायद आफ्नो नियतिलाई वा आफ्नो भाग्यलाई वा यो व्यवस्थालाई वा यो अवस्थासम्म ल्याइपुर्याउने अन्य कुनै विशेष परिस्थितिलाई ? सडकमा एकाविहानै जिन्दावादका नारा लगाउँदै चुनावी प्रचारप्रसारका एक हुल मानिसहरु आइपुग्छन् । ऊ निकै शान्तपूर्वक भीडलाई नियाल्छे र मुस्कुराउँदै हातलाई मुट्ठी पारेर माथि उठाएर भन्छे जिन्दावाद ! उसलाई देखेर लाग्छ कि ऊ पनि केही गर्नलाई नेता हुन तयार छे । भीडका सबै मानिसहरुको अनुहार यति गहिरिएर हेर्छे कि उसको धेरै लामो समयदेखिका आत्मीय साथीहरु हुन् या उसको जीवनलाई तुफानमय बनाउने कोही अनुहार पनि यहाँ छन् कि ? भीड अलि टाढा पुगेपछि सबैलाई अभिवादन गरेर ऊ आफैं पेट मिचिमिची हाँस्छे । उसले देश विकासको परिकल्पना,सपना, आश, त्रास देखाउने सबै मानिसको मुकुन्डो लगाएका मानिसहरुलाई चिनेर पो हो कि ? फेरि एक्कासी त्यही रुन थाल्छे हावामा महल ठड्याएर सपना बाँढ्नेहरुले सर्वसाधारण जनताको जीवन ध्वस्त पारेको जीवन संझेर हुन सक्छ तर उसको संवेदनाका छालहरु एकैछिनमा बदलिएको देखेर म छक्क पर्छु । मानिसलाई कलमी गरेको ठान्दि हो कि ? साँच्चिकै मानिस किन एउटा जरामा अर्कै फल्छ ? मनभित्र एक खाले जरा छ तर किन बाहिरी बनावटमा अर्कै सुन्दर देखिन्छ होला ? कागतीको जरामा आँप फलेजस्तै ! फरक रुप अनि फरक स्वाद ? देखिन्छ एउटा अनि हुन्छ अर्को किन? विचित्रको मान्छे । खै किन हो ऊ शान्त भएर बसी एकछिन । लाहुरे भएर जीवन जिउन लालायित युवाहरु दौडेको आवाजले विहानको शान्त वातावरणमा एक प्रकारको सांगीतिक तरङ्ग उत्पन्न हुन्छ खै मिठो हो की नमिठो हो छुट्याउनै नसकिने । यही आवाजले ऊ पनि सोचमग्न रहेको जीवनबाट पुनः बाहिरिदी हो । सडकको छेउमा फुलिरहेको फूलको नजिकमा गएर एक झुप्पा यसरी लुछ्छे कि यसले नै उसको सारा बैंस चोरेको छ । त्यही झुप्पाभित्रको सुन्दर थुङ्गा हातमा लिएर निकैबेर खेलाउँछे अनि आफ्नो शरीरको सारा बल लगाएर किचिपिची पारिदिन्छे त्यो फूलको थुङ्गाले उसको हाँसो लुछेको थियो कि वा बाहिरिन लागेका देशका युवाहरुको नियती संझेर किच्याएकी हो ऊ आफैं जानोस् । म उसको जीवनको अवलोकन गर्न खोज्छु । उसको जीवनका सबै आशा जलेर खरानी भएका छन् । मन डढेर सकिएको छ अव पलाउने कुनै गुन्जायस नै छैन । जीवनका आधारभूत आवश्यकता गाँस, बास, कपास, पनि हुन् कि होइनन् भन्ने कुरा पनि विर्सिसकेकी छ । मान्छेले मान्छेलाई पागल बनाएको छ र स्वयम् पागल भएको छ तर ऊ घोषणा गर्दैन । अरुको नजरमा फरक व्यवहार गरेकै कारण अरुलाई पागल भनिदिन्छ । उसको छेउमा कोही आउदैन र आउन पनि चाहदैन किनकि ऊ आफूलाई फरक ठान्छ । मानिसको सम्बन्धमा तुवाँलो लागेको छ,मायाको खडेरी परेको छ र पनि ऊ आफूलाई अरुभन्दा अब्बल ठान्छ । घमन्डले मानिस एक्लो भएको छ । दुनियाँलाई चोट दिएर मुस्कुराउँछ, अरुको मुस्कान लुटेर आश्वासनको व्यापार गर्छ,हिँड्ने बाटोमा भीड जम्मा हुन्छ तर कसैले कसैलाई चिन्दैन मतलब गर्दैन मान्छे यहाँ । त्यही बेमतलवी दुनियाँको भीड लाग्ने सहरको सडकको बीचमा हातखुट्टा फालेर वेपरवाह लमतन्न सुत्छे ऊ । म उसलाई नियाल्छु – कन्चन, विहानको सफा, नीलो सुन्दर, शान्त, गहिरो फराकिलो आकाश देखेर दङ्ग हुन्छे । सारा पींडा भुलेर मुक्कुराउँछे । कसैले आजसम्म नछोएको, निर्मल,कन्चन सायद यसैलाई भन्दा हुन् कि पवित्र भनेर । कसैलाई पनि विभेद नगर्ने विशाल हृदय भएको आकाशमा कसैको पनि वस्ती नभएको खाली ठाउँ देखेर वस्ती बसाउने कल्पना गर्दी होला । यहाँ धर्तीमा गरिने अपमानजनक व्यवहार त्यहाँ नहुने भन्ने ठानेर होला मुसुक्क मुस्कुराउँछे । शीतको थोपा परेर विहानीमा मुस्कुराएको फूलभन्दा सुन्दर मुस्कान आहा कति मिठो ! मानिस हुनुको पहिचान मुस्कान । पागल बनाउने यो समाजको ऊ केही पर्वाह गर्दिन । आफ्नो सपनाको संसार बसाउने सबैभन्दा उत्तम स्थान त्यो विशाल आकाश जसमा बेलैदेखि योजनाबद्ध तरिकाले वस्ती वसाउँदै मनमनै इन्जिनयरिङ्ग गर्न थाल्छे । बाटामा एउटा ढुङ्गाले मनमा सजाएको समाजको परिकल्पना सजाएर चित्र सजाउँछे । हेर्नेहरु मुखामुख गरेर भन्दैछन् पढेलेखेकी जस्ती छे किन पागल भइछ यो ? उसको चित्रकारिता नबुझी व्यक्त गरिएका यी शब्दले उसबाट कुनै पनि प्रतिक्रियात्मकता जनाउँदैनन् । ऊ सबै मानिसका मनभित्रका अव्यक्त भावनाहरुको देखिने छाया प्रतिच्छाया, परिस्थितिले बनाएकी पागल हो । अव्यक्त पागलहरुका बीचमा उदाएकी व्यक्त पागल । चिनिएकी पागल । समाजले पागल भनेर हेर्छ तर किन यस्तो भयो भनेर सोच्दैन, बेस्सरी गाली गर्छ तर किन यस्तो व्यवहार गर्छे त्यो जान्ने कोशिस गर्दैन । उसलाई लखेट्छ जो जीवन र नियतिबाट नै लखेटिएकी छ, अब कहाँको कुन भित्तामा पुर्याउनु छ र ? भिड लागेर केबल बुख्याचा भएर रमिता हेर्छ । हिजो पनि हेरेकै थियो आज पनि हेर्छ भोलि पनि हेर्छ यहाँको मान्छे – भावशून्य, संवेदनाशून्य अनि विवेकशून्य भएर । उसलाई चिन्ने कोशिस पनि गर्दैन । ऊ को हो, कहाँबाट आई, उसलाई कुन नियति, अवस्था, व्यवस्था, घर,समाज, व्यक्ति वा राज्यले यस्तो बनायो वा दोषी को हो भन्ने कुराको पत्ता नलगाई कति सजिलै उसलाई पागल भनी घृणा गर्छ यो धर्तीको मान्छे । तर उसले घन्टौं हेरेको आकाश स्वच्छ, शान्त,निष्पक्ष, निष्कलंकित, स्वार्थी मानवरहित छ । त्यहाँ यो समाजमा भएजस्तो वस्ती, समाज, सोच, नीति, नियम, व्यवस्था र अवस्था पक्का छैन । न त्यहाँ द्वन्द्व, झगडा, जालझेल, अभाव, अव्यवस्था ,पापी खेल, लोभ लालच केही होस् । यो सुनसान स्थानमा आफूले चाहेजस्तो समाज रहोस् भनेर सोच्दी हो ।विस्तारै उठेर मेहनेतका साथ सडकमा मनका भावना उतारेर चित्र कोरेर मुस्कुराउँछे । उसको मुखबाट आवाज फुस्फुसाउँछ समतामूलक समाज समानतामा आधारित समाज न्यायमा आधारित समाज विधि र पद्धतिमा चल्ने समाज सबैले सबैलाई सम्मानजनक व्यवहार गर्ने समाज सबैको सुखदुख बराबर बाँडिने समाज जातजाति,भाषा, धर्म, लिङ्ग, वर्ण, जन्म, संस्कार, संस्कृति, भूगोल वा परिवेश आदि केहीका आधारमा पनि विभेद नभएको प्रेममय, सुन्दर,शान्त, प्रिय अनि मानवतामा आधारित समाज । पागल बन्ने र बनाउने परिस्थिति पैदा नभएको समाज । रमिते होइन सहयोगी समाज । सुन्दर समाज आहा कति सुन्दर ! कल्पनामा सजाएको समाजको नेता भएको खुशियालीमा होला अट्टहाँस हाँसो हाँस्दै उफ्रदै गर्दा भारी सामान लिएर आएको ट्रकसँग ठोकिन पुग्छे । उसको हाँसो गुन्जायमान हुँदाहुँदै विलिन हुन्छ । एकैछिनमा जम्मा भएका मानिसहरुले रमिते भएर हेर्दै भन्दैछन् टाउको त कच्याककुचुक भएछ त पागल्नीको । दुखै निभाइ यो पागलले । अब आनन्द हुने भो । आजबाट यसको चर्तिकला सकियो । यो वेवारिसे लास उठाउने व्यवस्था हुनुपर्ने भो । पुलिसलाई फोन गरौं पुलिसलाई । लाग्छ त्यहाँ कुनै मानव जीवनको क्षति भएको होइन । सबै रमितेहरु रमित मात्रै हेरिरहने अव्यक्त पागल हुन् र केवल ऊ मात्र व्यक्त पागल थिई । जीवनमा रुँदारुँदै हाँस्दाहाँस्दै नबुझेको समाजको स्वरुपलाई खुला आँखाले हेरेको हेर्यै विदा भई पागल्नी आँखा झिमिक्क नगरी । म भने सुन्दर समाजको परिकल्पना गरेको उसको चित्र पढ्न खोज्दै थिएँ तर अष्पष्ट चित्र बुझ्न नसकेर मनमनै छट्पटिदै त्यसको परिकल्पनाकारको अन्त्य भएको ठानेर भावशून्य हुन्छु । लामो सास फेरेर मनमनै भन्छु – बैकुन्ठमा बास होस् । हार्दिक श्रध्दान्जली।