मेरा छिचोल्किएका भावनाहरु : जब तिम्रो तस्बिर हेर्छु, लाग्छ तिमी एउटा किताब हौ। प्रत्येक दिन जसो नै तिम्रो तस्बिरबाट नयाँ नयाँ पङ्क्तिहरु फेला पार्छु, नयाँ नयाँ हरफहरु फेला पार्छु, कैयौं आख्यानका पाण्डुलिपिहरु फेला पार्छु। तिम्रो नयनबाट बेग्लै संसार फेला पार्छु । तिम्रा ओठदेखि मनलाई नै स्तब्ध पार्ने संगीतको लय फेला पार्छु । त्यहि लयमा झुम्छु भित्र भित्रै। स्तब्ध भएको मन एक्कासी भुक्क गर्छ, आखा नै रसाउने गरी। केहि बेर तिम्रै यादले तिम्रै तस्बिर धमिल्याउछ। लाग्छ तिमि नै आउने छौ यी धमिलिएका दृश्य साफ गर्न। बेला बेला तिम्रो त्यो अन्तिम लवजले पोल्ने गर्छ। भनेकी थियौ, "अब भुलिदेउ मलाई बिर्सिदेउ हामी बिचका ति पलहरु, ति अञ्जानमा गरिएका बातहरु, जनि नजानि घटेका हाम्रा दुरिहरु, अब जानेर नै हामि बिचको सामीप्यता हटाउनु पर्छ। पुन: त्यहि दिनमा फर्किनु पर्छ, जहाँ तिमि मेरो निमित्त अञ्जान थियौ अनि तिम्रो लागि म !" तर तिमि मेरो निमित्त कहिल्यै अञ्जान भईनौ। तिमि त मेरो जीवनको उत्पत्ति संग संगै उदय भएकी हौ। शायदै हुने थिएँ होला तिमि देखि टाढा, यदि यो दिन तिमि मेरो सामु नआएकि भए, त्यो दिन तिमि नमुस्कुराएकि भए। शायदै बस्ने थिइनौ होला तिमि मेरो मनमा यदि त्यो रात तिमीले मेरो छातीको आड लिई ननिदाएकि भए। शायदै छोडिदिन्थे होला ति हातहरु पनि यदि त्यो कालो सुनसान रातमा तिमीले मेरो हात समाती नहिडेकि भए। जसरि त्यो दिन तिमीले मेरा यी हातहरु समातेकी थियौ, त्यसरी नै समाती राख्ने छु तिम्रा यादहरुलाई। तिम्रै यादको अंगालोमा बेरीई बस्ने छु। तिम्रा ति नयन जस्ता सुन्दर रात काला रातमा, तिम्रा केशदेखि बतासको बेग संग संगै बहिरहेका सुवासको नशामा झुम्ने छु। झुम्दै तिम्रो अन्तरिक्षमा पुग्ने छु। ति अनगिन्ति ताराहरु संग खेल्ने छु, जुन तिमीले मेरो निमित्त सझाएर राखेकी थियौ। मलाई अझै नि याद आउने गर्छ त्यो दिन, जब मेरो मोबाइल बिग्रिदा, तिमि म संग बोल्न नपाउदा कति आत्तिएकी थियौ ! कति हतारिएकी थियौ ! तिमि मलाई खोज्दै मेरो घरसम्म पनि आएकी थियौ ! कसरि मेरो मामुको सामु मलाई थप्पड लगाउदै बेसमारी अंगालेकी थियौ ! मामुले पनि त्यस दिनदेखि आफ्नो सबै अधिकार तिमिलाई सुम्पिनु भएको थियो। उहालाई अब यकिन भएको थियो कि, छोरालाई आफु जत्तिकै माया गर्ने कोहि आयो उसको जीवनमा। मम्मीलाई अझै पनि लाग्दै छ कि, तिमि त्यसरी नै आउने छौं, त्यसरी नै अंगाल्ने छौं, लाग्दै छ उहालाई बर्सिन्छौ पुन: झरी जसरी मेरो जीवनमा। म प्रायः जसो त्यहि झरीको प्रतिक्षामा बस्ने गर्छु। खुल्ला आकाश मुनिको त्यो कालो रातमा सडक छेउ आँखाले ज्योति छर्दै बसिरहेको छु। आँखा झप्प झप्प बन्द हुन्छ। हत्त पत्त आँखा खोल्छु। गालामा थ्याप थ्याप हान्छु। ता कि मेरो आँखाको ज्योति कम नहोस। आउदै गर्दा तिमीलाई कुनै बाधा नहोस। तिमीलाई अन्धेरीले नछोपोस। न त झरी नै पर्यो न त तिमी नै आयौ। खोई कता हरायौ तिमी, कि कतै सजिला बाटाहरु भेटिए ! या म सम्म आउने बाटो अप्ठेरिदै गयो ? तिमी जानु अघि केहि चिज छोडि गएकी थियौ। जुन म मा अल्झिएको छ। मलाई बेरेको छ। बेला बेला पोल्छ पनि। कता कता बिझे जस्तो पनि हुन्छ। फुकाउन खोज्छु फुक्दैनन। शरीर देखि अलग्याउन खोछु अलग्गीदैनन। उल्टै आफ्नै शरीरलाई नै पिडा हुन्छ बरु। कहाँ छ त्यो चिज भनि शरीर वरिपरि हेर्छु। कहिँ कतै देखिदैनन। अदृश्य चिज पो रहेछ, तिम्रो लागि मेरो प्रेम जस्तै ! तिम्रो याद। कहिँ कतै, केहि नदेखे पछि आँखा बन्द गरे तब बल्ल फेला पारे मुटु भित्र बेरीई बसेको रहेछ। कति कति बेला बेसरी कसिदो रहेछ, कति कति बेला मुटुमा घोचिदो रहेछ र पिडा हुदो रहेछ। तिम्रो यादले तिम्रै ठाउँ पो ओगटेको रहेछ। तिम्रो पर्खाइमा थुप्रै रातहरु बिते, दिनहरु बितिसके, तिम्रै प्रतिक्षामा बसिरहेको चन्द्रमा पनि कहिले काहीं थाक्ने गर्छ। केहि दिन बिश्राम लिन्छ र पुन: आउछ त्यसरी नै। तर तिम्रो पर्खाइमा मेरा आँखाहरू कहिल्यै थाकेँनन। मेरो शरीर कहिल्यै थाकेँन। तिम्रो नाम लिदै गर्दा पनि यी ओठहरु कहिल्यै रोकिएनन। अझ यी ओठहरु रातमा पनि तिम्रै नाउँ गुनगुनाउने गर्छन। तिमीलाई भुल्नु कसरी ! तिमी त मेरो आँखाको त्यो ज्योति हौं, जुन मलाई यी सुन्दर क्षणहरु अवलोकन गराईरहेका हुन्छन। तिमी त मेरो आवाजको त्यो ध्वनि हौं, जुन मेरो मुटुको कुना छेउबाट निस्किने गर्छ। त्यो पनि तिम्रै नाउँको लवजमा। आँखामा भएका सबै आशु संग संगै तिम्रा यादहरु पनि बगिजाउन चाहन्छु। तर खोइ आशु भने प्रत्येक दिन जसो नै बग्ने गर्छन तर तिम्रा यादहरु भने कता कता फैलिएका छन् ! सकिदैनन। तिम्रा यादहरु त मन मुटु हुदै शरीरको प्रत्येक नशा नशामा बगिरहेका छन्।मेरा नशा नशा हुदै बगेका, तिम्रा मादक यादहरुले प्रत्येक क्षण मस्तिष्कको द्वार ढक्ढक्याई रहन्छन। मेरो स्वोप्निल आँखालाई पनि झक्झक्याउछ र तिम्रो चित्र प्रतिबिम्बित हुन्छ। लाग्छ सामुन्ने तिमि नै छौ। मेरो सामु मुस्कुराउदै, मेरो छट्पटाईरहेको मन एकाग्र पार्नलाई, घिस्रीरहेको, लडिरहेको म लाई हात थमाउनलाई, तिम्रो केशको सितल छाहारीमा लुकाउनलाई तिमि मेरो सामुन्ने छौ। छिन भरमै अन्धकार छायो आँखा वरिपरी । हरायौ कहाँ तिमी छाडी मलाई यसरी, लिएर जाउ तिम्रा यादहरु पनि जसरी गयौ तिमि त्यसरी, सपना आए जसरी देखियौ, यदि सपनामा केहि पलको लागि थियौ भने त, भुलाई दिन्थेँ होला पनि तर तिमीबाट नै बन्ने गर्छन मेरा सपनाका आकार पनि जसरी तिमी बाट म बने त्यसरी । खोइ किन हो किन ! म कैदी त होइन, तर कता कता आफु आफैँमा कैद भएँ जस्तो लाग्छ । आफ्नै नशाहरु एक आपसमा एक अर्कालाई बाधे जस्तो लाग्छ । शरीर प्रतिकारमा उत्रन्छ आफैँमा, आफैँसंग रिहाई माग्छ, आफैँ मुक्त हुन पनि दिदैन । कोशिस गर्दै छु तिमीलाई भुलाउन फेरी तिमीलाई भुलाउने बहानामा तिम्रै याद आउने गर्छ। झनै बढी तड्पिन्छु, एक्लै बर्बराउछु, चिच्याउछु, एक्लै विस्तरामा लडिबुडि खेल्छु। तिम्रा यादहरु बगाउन कति पल त रगतहरु पनि बगाए, तर नाइँ बगेनन तिम्रा यादहरु, बरु झनै बगिरहेका रगत रोके जस्तो लाग्यो तिम्रा यादहरुले। यति विघ्न यादहरु सझाई राख्नु, मिठा पलहरुका यी दृश्य सझाउनु र त्यसलाई भुलाउन नसक्नु कुनै कैदीले कटाई रहेको सजाय भन्दा कम नहुदो रहेछ। यादहरु, चाहे ति मिठा पलाहरुका हुन या तिता पलहरुका, दुवैले पिडा नै दिदा रहेछन। पिडाको अदृश्य रुप नै यादहरु रहेछन। यादहरु त पिडै पिडाको दलदल रहेछ, जसमा म भासिदै गएँ, निसासिन थालेँ। म केहिबेर तिम्रो प्रेममा पौडिदै थिएँ। डुबाई गयौ मलाई उक्लनै नदिने गरि सदाका लागि। तिमीले डुबायौ या मा आफैँ डुबेँ ! शायद ! तिम्रो प्रेमको घनत्व भन्दा मेरो घनत्व बेसी भएछ म आफै डुबेँ, उक्लनै नसकिने गर। यदि तिम्रो प्रेम मात्र सुके पनि उक्लन सक्थेँ म। न त तिम्रो प्रेम नै सुक्यो न त म नै उक्लन सकेँ। कतिकति बेला सिरानीको आडलिइ निदाउन खोज्दा तिमीले मेरो छातीमा शिर अड्याई भनेका कुराहरु याद आउने गर्छ। भनेकी थियौ, "यहाँ बस्ने म मात्र हो है !" र मिठो मुस्कान फ़ैलाउथ्यौ। म पनि मुस्कुराउदै तिम्रा ति फ़ौलिएका ओठहरु एकै ठाउमा डल्लो पारी तिम्रो मुस्कानको स्वाद लिन्थेँ। तिम्रा ओठसंग खेल्दै गर्दा तिम्रा आँखाहरू लोभीए जस्तो लाग्थ्यो र म तिम्रा आखाहरूसंग खेल्थेँ, तिम्रा गालासंग खेल्थेँ । खेल्दै गर्दा लाजले रातो भएँ जस्तो भान हुन्थ्यो र तिम्रा केशहरुमा लुक्न पुग्थेँ । तिम्रा केशहरुले काउकुति लागे जस्तो हुन्थ्यो । विस्तारै तिम्रो पुरै शरीर लोभीए जस्तो लाग्थ्यो र तिम्रो शरीरमा बाधिन पुग्थेँ । तिम्रो वक्षको आड लिई म तिमीमै विलिन हुन्थेँ। त्यसबखत हाम्रो शरीर बाधिएका हुदैनथे । त्यसबखत हामी दुवैका आत्मा एक अर्कामा बुर्कुच्ची मारी आएका हुन्थे। मेरो आत्माले तिम्रो शरीरलाई अनि तिम्रो आत्माले मेरो शरीरलाई अंगालेका हुन्थे। हामी शारिरीक सुख होइन आत्मिय सुख साट्ने गर्थौ। हो अहिले मेरो शरीर त्यहि आत्माले चिमोटीरहेको छ। बेला बेला सारै पिडा दिने गर्छ। यद्यपि, तिम्रो शरीरमा नयाँ आत्माले जन्म लिग्यो कि अरु कसैको आत्मा पस्यो तिमीमा ? तिमि त तिम्रो आफ्नै आत्मालाई सम्झेर फर्किएर पनि आईनौ। तिमि अलि लापरवाही भैछौ, बेपर्वाही भैछौ। आफ्नै आत्मालाई नै नजरअन्दाज गर्यौ। प्रिय तिमीलाई मेरो एउटा सुझाब कोहिको पनि वचन नलिनु, किनभने वचन नबिसाउने गरि बिझ्ने गर्छ। न त त्यसको कुनै इलाज छ। हुन त तिमी आफुमा हिम्मतवली छौ। वचनको जुवा खेलाउन सक्ने भैछौ। तर तिमि एक पटक हारेर हेर। तिमि त मलाई जितेर गएकी हौ। जितले मानिसमा अहंकार पैदा गर्छ। हारले जित्नको लागि त केहि सिकाउछ नै संगै मजबुत बनाउने गर्छ। जो अहिले म बन्ने प्रयासमा छु। तिमीलाई लाग्ला, तिमी जितेर गयौ र म हारे। सायद म पनि केही समय यही सोचिरहेँ। तर प्रेम कुनै प्रतिस्पर्धा होइन, न त यसमा कसैले जित हासिल गर्छ न त कसैले पराजय सहनु पर्छ। न त अहंकार पैदा गर्छ, न त सहानुभूति दिलाउछ। प्रेमले त विलीन हुन सिकाउछ, अहंकार भन्दा माथि उठ्न सिकाउछ। उड्दै प्रेमको संगीतमा झुम्न सिकाउछ। प्रेमले प्रेम बाड्न सिकाउछ। अनि फेरी सोच्ने गर्छु तिमीलाई। शायद तिमि त्यहीँ प्रेम बाड्दै हिडेकी पो छौ कि ! क्षणभरमै निरास हुन्छु। फेरी लाग्छ म नै पो अहंकारी रहेछु। तिमिबाट अरु कसैले प्रेमको अमृत ग्रहण गर्दा भने मलाई को डाहा लागेको रहेछ। त्यसैले त तिमि अरु भन्दा भिन्न छौ। तिमिमा अरु कोहिको बिम्ब देखिदैन, बरु अरुमा भने तिम्रै प्रतिबिम्ब देख्ने गर्छु आज भोलि। त्यहीँ प्रतिबिम्बले मेरा आँखालाई झुक्क्याई सान्त्वना दिलाई रहेको हुन्छ। मात्र स्पर्शको आभाष फ़िक्का हुन्छ। तर मेरा आँखालाई भने तिम्रै चित्र मात्रैले नै ज्योति छर्ने गर्छ।