बोली फेरी आउँदैछु बाँझिएकाबा री हेरी कुलोको गीत गाउनेछु तिम्रै हकका लागि भन्दै भोट हाल्न लगाउँछु यत्रो दिन भोकै पर्यौ विचरा भनी आउनेछु यतिका दिन नाङ्गै पर्यौ कठै भनी आउनेछु माइक उजिल्याउँदै गर फेरि त्यहीँ आउँदैछु पुराना आश्वासन छोडी बोली फेरी आउँदैछु ।१। कस्ता अबुझ भेडा बन्छौ कुरा बुझ अव भन्छु गर्न खोज्दै थिएँ तर गर्नै पाइनँ भनी रून्छु मेरो गाउँ मेरो पहाड मेरो तराइ मधेश भनी लोकतन्त्रको फल चाख भन्दै फेरि म आउँछु माइक उजिल्याउँदै गर फेरि त्यहीँ आउँदैछु पुराना लुगामा होइन चोली फेरी आउँदैछु ।२। तिमीलाई दुःख दिने पापी थुन्छु म भन्नेछु उता गई उसलाई भेटी स्यावास भन्नेछु विकासे भाषण बर्सा ई गाउँ हराभरा पार्छु सुनसान गाउँघरमा आई झन्डा फेराउँछु माइक उजिल्याउँदै गर फेरि त्यहीँ आउँदैछु पुरानो स्वरुपमा होइन डोली फेरी आउँदैछु ।३। तोतेबोली भेला पारी जिन्दाबाद भन्न लाउँछु वर्षैपिच्छे चुनावमा जानु भन्दै सिकाउँछु जिन्दावाद र मुर्दावादका नारा लाउन सिकुन् वरु झोला बोकी चाकडीमा आजैदेखि भिडुन् बरु माइक उजिल्याउँदै गर फेरि त्यहीँ आउँदैछु पुरानो कोसेली होइन सोली फेरी आउँदैछु ।४। बुढाबुढी बाबाआमा ती छोराछोरी केटाकेटी मन छामी कुरा गर्छु मिठा बाँड्छु सपना ती हिजो विर्स भोलि संझ आज मलाई जिताउ भनी नोट राखी पार्टि दिन्छु तिनका गोडा समाउँछु माइक उजिल्याउँदै गर फेरि त्यहीँ आउँदैछु पुरानो झुन्डमा होइन टोली फेरी आउँदैछु ।५।